![महाभारा [Mahabhara] book cover](https://m.media-amazon.com/images/S/compressed.photo.goodreads.com/books/1641740737i/60070486.jpg)
प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो। डुक्पा उटपट्याङ गरिबस्छ। पढ्नमा लद्दु तर ‘डुक्पा डान्स’का लागि चर्चित छ। पालाम गाएरै सोल्टिनीहरूको प्रिय छ । त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्धको छिर्का छ्यापिन पुग्छ। उसले आफ्नो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादीबीचको तिक्तता अनुभव गर्छ। एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छोहाङसँग हुन्छ, जसले उसको बाटो नै मोडिदिन्छ। मधुर पूर्वेली लबज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मीठो सम्मिश्रण हो, महाभारा।